नेपाल भारत सीमामा सशस्त्र प्रहरी बल र भारतीय नागरिकबीच झडप
झडपको क्रममा एक भारतीयको नागरिकको ज्यान गएको छ। तीन सशस्त्र प्रहरीसहित अन्य दुई भारतीय नागरिक घाइते भएका छन्।
झडपको क्रममा मृत्यु भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बलको प्रदेश २ को छिन्नमस्ता बाहिनीका डिआइजी राजु अर्यालले भने, ‘हाम्रा सुरक्षाकर्मीको एसएलआर हतियार खोसेर फ्याँकेपछि झडप भएको हो।’
भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि झडप भएको हो। सो क्रममा सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ।
त्यसैगरी हतियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम पक्राउ परेका छन्। सुरुमा २०/२५ जनाको भारतीय समूह सर्लाहीको संग्रामपुरस्थित बोर्डर आउट पोस्ट नजिकबाट उनीहरु नेपाल प्रवेश गर्न लागेका थिए। सो क्रममा सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरुले नेपालीचाहिँ छिर्न पाउने, हामीचाहिँ किन छिर्न नपाउने भन्दै विवाद गरेको सशस्त्रले जनाएको छ। त्यसको केही समयमा करिब एक सय जनाभन्दा बढी आएर सशस्त्र प्रहरीका एक हवल्दारमाथि नै हातपात गरेका थिए।
त्यसपछि स्थिती नियन्त्रणमा लिन १० राउण्ड हवाइ फायर गर्नुपरेको डिआइजी अर्यालले बताए। हवाइ फायर गरेपछि उनीहरुले सशस्त्र प्रहरीको साथमा रहेका एसएलआर बन्दुक नै लिएर फरार भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ।
Infokhabar.com
No comments:
Post a Comment